नेपाल नगरपालिका संघको आयोजनामा मिति २०८३ असोज ०१ गते जनकपुरधाममा वित्त व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहका साझा अधिकार, जिम्मेवारी र कार्यक्षेत्रमा देखिएका दोहोरोपना तथा कानुनी र नीतिगत अस्पष्टताका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशको अर्थ मन्त्रालयका प्रतिनिधि, विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख, लेखा अधिकृत तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिका संयोजक तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका माननीय अर्थमन्त्री युवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो। कार्यक्रममा विषय विज्ञ काशीराज दाहाल र पवन लोहनीले वित्त व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहका साझा अधिकार र जिम्मेवारीका विषयमा प्रस्तुति गर्नुभएको थियो । प्रस्तुतिका क्रममा प्रदेश तथा स्थानीय तहबीच सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा रहेका साझा अधिकार, राजस्व व्यवस्थापन, जिम्मेवारीको बाँडफाँट, समन्वय तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीलगायत विषयमा चर्चा गरिएको थियो।अन्तरक्रियाका क्रममा सहभागी स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरूले वित्तीय व्यवस्थापनका क्रममा आफूहरूले भोगिरहेका व्यावहारिक समस्या, कानुनी तथा नीतिगत अस्पष्टता र प्रदेश तथा स्थानीय तहबीचको समन्वयका विषयमा आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो।